भाषाको चिरहरण भैरहेका बेला म भनेँ परिभाषाको खोजीमा छु ।
परिभाषाको निख्खर मौलिक परिभाषा कस्तो हुन्छ ? अहिले तलासमा छु ।
जीवनका कैंयौं परिभाषाहरू मैले अँझै थाहा पाएको छैन । हिजोआज सर्वाधिक चल्तीको विषय नै परिभाषा हो । नयाँले पुरानालाई विस्थापन गर्छ । पुरानाले नयाँका लागि स्थान छोड्दैन । पुरानाहरू आफ्ना परिचय फालेर नयाँ हुन नसक्ने । नयाँले पुरानाको पथालम्बन गर्न नचाहने । यस्तो किन हुन्छ ? केका लागि हुन्छ ? प्राप्त्याशालाई उद्देश्य बनाएर अगाडि बढिएका चिरनूतन विचार सबैका लागि ग्राह्य हुनु पर्ने हो तर भएको छैन ।
जीवनमा व्यतिरेकी र संश्लेषित अनेकौं विम्बहरू छन् । पउल चित्रहरू छन् । अमौलिक चित्र र दूरूह विम्बाकृतिले जीवनलाई नै बिब्ल्याँटो बनाएको हो । धेरै खुकुला परिभाषाहरू पनि भोगाइका क्रममा कोक्याउने रैछन् । सधैँ आफू अनुकूल हुँदा ठिक र आफू प्रतिकूल हुँदा बेठिक । किन यस्तो हुन्छ ? खोजीमा अनवरत क्रियाशील छु । क्रियाशीलताकै साथमा क्रियाशील भएर लागिरहेको छु । बेधडक लाग्या छु । अलजेब्राका थ्योरमझैँ बटारिएका सूत्रहरूले जीवनलाई हल गर्न पनिसकेनन् । सूत्र र विधिले जीवनलाई सकसहीन बनाउने भए आज सबै साबालक मनहरू रहरका पिरामिड हेर्दै हृदयग्राही खुसीका आलम्बन भावहरूमा र जीवन सानन्द भोगाइका उपवनमा विचरण गर्दै कल्पनाको व्योममा उडेर कावा खाइरहेका हुन्थे ।
छैन न हो छैन । मामपा.....यो जीवन सोचेजस्तो छैन । भोगेजस्तो पनि छैन । जे हुन्छ भन्यो, त्यो हुँदैन । अनि जे हुँदैन भन्यो, त्यही हुन्छ । आखेटोपहारले कतै धूँवाधार लघारेको छ । उपहारले कतै स्याँस्याँ हुनेगरी पछ्याएको छ । पूर्णता भित्रको अपूर्णता अनि अपूर्णता भित्रको पूर्णताको नाद र निनादमै चकितचकित र थकितथकित भएर यात्रारत भएको छ –आजको मानिस ।
सबै पेपर मनिका पछि आफ्नो पाइन देखाएर बेतोडसँग दौडेका छन् । बेलाकुबेला नूनको हाहाकार पर्ने मुलुकमा कानूनको बद्नाम भएको छ । तीनसय पैंसठ्ठी दिनमा दस दिन कटाएर बाँकी तीनसय पचपन्न दिन असत्यले सत्यलाई जितेको दृष्टांश हामी चल्ती हिरोको फ्लप फिल्म टिकट काटेर हेरेझैँ वाचाल मुद्रामा हेरिरहेछौं । नहेर्नुको विकल्प पनि छैन् जसरी राजधानीको सार्वजनिक सवारी साधन चढ्ने यात्रुको जतिसुकै कन्तविजोग भए पनि उसले विकल्प खोज्नै सक्दैन । विजया पर्वको बाँकी दसदिन दुर्गा सप्तसती वाचन गर्दै पण्डितहरू धर्मको महिमा मण्डित भएको अभिनय गरिरहेछन् । मुक पशुपंक्षीको दोहन भएको छ –अनाहकमा । अलिखित र अपरिमेय संख्यामा रगतका कोसी र कर्णाली बगेका बेला अधिकारी दम्पत्ति भने न्यायका लागि अस्पतालमा अनसन बसेका छन् ।
यहाँ सेलफोनमा मात्रै होइन मनका नेटवर्कहरूमा समेत कल बाइपास गरिन थालिएको छ । एकथरि एलोपेथिक चिकित्सकहरू संविधानको गर्भधारण गरेको यो देशलाई नसा सम्बन्धी रोग लागेको भन्दैछन् । अर्काथरि आयुर्वेदिक चिकित्सकहरू दसा सम्बन्धी रोगको दलिल पेश गर्दैछन् । रोगी एउटै तर दुईथरि रोगको प्रेस्किप्सनमा जनता जनाद्र्धन कुहिराका काग बनाइएका छन् । तीनतीन पुस्तासम्म पनि एउटै शैलीको आन्दोलन गर्दै विधि र विधानकै खिल्ली उडाएर कस्तो संविधानको खोजी गरेका हुन् –बुज्रुकहरूले । कहिरनको गुत्थी अँझै ज्ञाताज्ञात भा छैन ।
सगुनका साइपाटाहरू पनि भनेनन् यी हाइटेक मानिसहरूले, साइतका घडाहरू पनि भनेनन् यी विजित मनोकांक्षालेहरूले । वर्तमानको बजारमा हाहाकार मात्र सस्तिएको छ । मँहगीमा हजार थोकहरू कुलिन ट्याग भिराएर थाक लागेका छन् । अनुशासन र कर्तव्यमा क्रमशः चिलासा र घुन लाग्न थालेका छन् । सुशासनको घाम एकादेशको कथा बेनको सदियौं भयो । विचार र आस्थाका कन्टेनरहरू यतिखेर सुनकोसीमा आएको पहिरोले जाममा परेका छन् । सहमतिको पथमा पहिरो खसेको छ । सिँहदरबारका बाटाहरू विकट भएरै होला नेताहरू सहकार्यार्थ रिसोर्टहरूमा जान थालेको धेरै भयो । उपजीव्य गन्थ्र मानिएको गीताको गोदाममा लाहाछाप लगाइएको छ । बाइबलको अपव्याख्या गरेर मनोलोकको धज्जी उडाएका छन् –बठ्याइँजीवीहरूले । कुटिल मनहरूले कुरानको पवित्रतामाथि नै धावा बोलेका छन् । सबैभन्दा बबुरो त बुद्धको इथिक्स भएको छ । संसारमा युद्ध असनको साँढेझैँ सुण्डी झोल्याउँदै, कोरलीका पछिपछि उत्तेजनाको फरमान जारी गर्दै र्याल चुहाएर अनवरत लम्किरहेछ –दशै दिक्पाल ।
इमान जमानको यद्यपि बोलकबोल प्रथाद्वारा लीलाम जारी छ । बुगेको प्याकसँगै औपचारिकतामा सीमित बनाइएका संवेदनाहरू पन्याला बनेर पातलिएका छन् । वेदनामा विज्ञापन गरेर नाफामुखी बेपारको सेयर बजारमा प्रतिकित्ता सेयरको भाउ उकालो लागिरहेछ । मानिस मेसिन भएकाले रियल लाइफमाभन्दा रिल लाइफमा रमाउन थालेको छ । फेक आइडीको सदुपयोग गर्दै जँवामर्द लोग्ने र पतिव्रता स्वास्नीनै वल्लोकोठा पल्लोकोठा बसेर च्याटमा खसमभार्याको समर्पणलाई सहिद बनाउँदै इत्तरिएका छन् । फेसबुकमा हरेक मानिसका तालहरू बेतालसँग रम्रिएका छन् । जगत् उल्टो नदीझैँ कर्मनाशा नाममा गन्धे पानीको फोहरा मिसाएर भोरजूवाको खेलबाडमा बाँकटे हान्न उद्दिग्न छ । तर बिन बादल बर्सिने मेघले शस्यशालिनी धराका खलियानहरू बेमौसमको बाजा बजाउँदै पोखरीमा परिणत भएका छन् । रोप्ने बेलामा बर्सिदैँन । भित्र्याउने बेलामा नचाहिँदो तबरले ओइरिन्छ –आरीले घोप्ट्याएझैँ । सुकृतिको नादमा लास्सो बीचमा प्रकृति पनि ताण्डव मच्चाइरहेको छ । एनजीओहरू जलवायु परिवर्तनका असिना टिपेर आइसको रिपोर्टिङ गर्दै ‘हरियो नोट’ छाप्नमै व्यस्त छन् ।
आदर्श राघव मानिएका अयोध्याका रामहरूलाई विना हिच्किचाहट् फोटोमा पारेर भित्तामा सजाइएको छ । यहाँ आइफोन बोक्ने आधुनिक रामहरू हराम भएका छन् । लक्ष्मणको इतिहासमा धमिरा लागेको छ । सीताहरू जीवन धान्नै अरब र मलेसियाका ताता फाँटमा गलितथकित मुद्रामा क्लान्त परिचय बोकेर लज्जाको मैलो परिधानभित्र लुकेर बाँच्न विवश छन् । यता देशमा आँखामा चिप्रा लागेका र ओठमा कलेँटी परेका तिनका नानीहरू पशुपति शर्माले गाएका ‘मलाई चिन्ता छैन केई’ गीत जानीनजानी गाइरहेछन् ।
पिउँदा त कताकति मजा लाग्छ पनि यो मनलाई । तर भोलिपल्टको दिक्दारीले फेरि पिउने कामलाई अघोषित रूपमै घृणा गर्छ । जस्तो तबल थापेर आएको दिन भार्याको आँखामा खुसीको एक प्रकारको मिसाइल पाउँछु अनि उधारो खाँदा र साहूजीका जाँदा उनै पत्नीको आँखाका तलाउमा फेवामा झैँ जलकुम्भी झार (दलगच्चा) उम्रिएर हैरानिएको भेद खुल्छ । पैसामा कस्तो पामर छ ? आफ्नै स्वास्नीलाई पनि निमेषभर मै बदलिदिन सक्छ ।
सामूहिक यात्राको यायावर यात्री भएको छु । मन त एकान्तको उपवनमा सयर गर्न चाहन्छ । शरीर सधँै चेतना छलेर आनन्दको खोजी गर्छ । आत्मा कहिलेकाहीँ मात्र नत्र शरीरको यस्तो आनन्दपरक यात्रालाई बेफ्वाँकमा गाली गरिरहन्छ । यात्रामा पार्थहरू छन् । परिवारका सदस्यहरू पनि छन् । आदर्शमा कौन्तेय गाण्डिवधारी अर्जुन साथै छन् । उनी हरपल सचेत बनाउछन् । जीवनमा चिट नचोर, भ्रमको पिङमा नमच्ची । धोकाघडीद्वय सापेक्ष पाश्ववर्ती भएर कर्ण र सकुनी इच्छाहरू पनि सल्बलाउन थालेका छन् । बगरलाई म्वाइ खाएर भागेका खोलाका लहरजस्ता तर्पिनतर्पिन सिद्धान्तले डिमार्केसनको सीमाना नदेखाएको पनि होइन । र पनि गुणवत्ताका खोलहरू झिरिप्प भएर मक्किनै सकेका छन् । अब त्यहाँ कुनै सान्त्वनाको सियोले रोदनको भ्वाँङ टाल्ने काम गर्न सक्दैन । किमार्थ सक्दैन ।
अभिभावकहरूलाई इन्भर्टरको उज्यालोमा सीमित बनाइएको स्काइपमा यहाँ छाडेर अनुज पुस्ता अब सात समुद्रपारि बत्तीइनैसके । कहाँकहाँ पुगे ? न धागालाई पत्तोफाँट, न चङ्गालाई ज्ञाताज्ञात । सबै कल्पिनुको श्यामश्वेत अलिना साझेदारीमा अनुमानका गुगलहरू सर्च गर्छन् । अर्धानो इमान ह्याङ् भएका बेलामा मायाको नेटवर्कले काम नगरेपछि कस्तो के लाग्छ र ?
चाक्षुस मार्गमा अवरोधार्थ तथागतहरू आएका छन् । भान्ते र अनुजलाई कुनै अध्यात्मको ट्राफिकले मार्गदर्शन गर्न सकेको छैन । उत्तरपुस्तिका समाएर उत्तरकै लागि टोलाइरहेका परीक्षार्थीहरू, आफू अनुकूल ‘कि’ बनाउनै उत्तरका खोजीमा ध्यानमग्न रहेका प्राश्निकहरू, ऊध्र्वमार्गको गमनार्थ ध्यान गरेकै जोगीहरू, भोगीहरू, भट्टीमाराहरू, साहूहरू, विधान निर्मितिका लागि भनेर सफेद लुगामा ठाँटिएकाहरू सबैसबै अल्पविराम मुद्रामा छन् । हताशा र मनोवादात्मक शैलीमा एकान्तमा एकालाप गरिरहेका छन् । वार्ता र सहकार्यको नाटक रचेर किँबा कोही शाष्टाङ्ग दण्डवत् शैलीमा इशान दिशातर्फ पृष्ठभूमि बनाउँदै लम्पसार दर्शनको रिहर्षल गरिरहेका छन् । लाग्छ, यी सबैसबैलाई व्यक्तिगत लाभहानिको चिन्ता छ । यसो गर्नु मै आनन्दको बहार छ । केवल वसन्तवहार । अपरिमित चाहनाको दाइँमा जब कसैले तगाराको अखनीले रोक्न खोज्छ अनि अभियन्तालाई असिम चिन्ता लाग्छ ।
समस्याको पूर्णविरामलाई नमन गर्ने मन छ । तर मन यतिखेर हतासको तिजोरीमा कैद छ । सबै उपायहरू निरुपाय भएका छन् । भर्खरै मात्र यादहरूले संकल्पको याद दिलाएर गए । तर त्यो पनि पानीको फोका सावित भयो । अतः असल मनलाई नमन छ । प्राप्त्यासालाई आदर छ । प्रबल प्रत्याभूतिलाई गौरव गरेको छु । अहर्निष शब्दका चरू होमेर जीवनको स्निग्ध यज्ञोपवित धारणार्थ मन्द गतिकै सही केही हतारमा छु । सवारी जाम छन् तर सवारीचालकहरू हतारिएका मानसिकतामा रहेका छन् । जेब्राक्रसमा उभिएको छु । अहिले मनोलोकको निरव शान्ति प्रत्याभूत गर्ने गुम्बाका गुरुहरू लामो घर बिदामा गएका छन् । चौरस्ताका ट्राफिकहरू अचेल स्वार्थका कित्ता मिलेकाले सवारी चालकसँग नजिक र पैदल यात्रीसँग क्रमशः टाढिएका छन् । अपनत्व र दूरत्वको यो संघटन द्रव्यको हुरीमा नुहिएका मकैका बोटझैँ भएकाछन् । भलिभाँती थाहा छ, नाहकमा पैदल यात्री भएर दुःख बेसाएको रहेछु । अहिले बेसाउने सबै चिजमा पेष्टिसाइट हालिएको छ । आफू आर्गेनिकको खोजीमा निस्किएको नाटक गरेर मेरा छिमेकीहरू क्रमशः ...
No comments:
Post a Comment